© २०२३
ईश्वर देवकोटा: लोकतन्त्रको सुन्दर पक्ष भनेकै फरक मतको मन्थन, विचार–विमर्श र मर्यादित वाक् स्वतन्त्रता हो। यीमध्ये यी दुई पक्ष विशेष रूपमा मूल्यवान छन्। नागरिक स्वतन्त्रताको अधीनमा रही लोकतान्त्रिक मूल्य र मान्यताको कसीमा बनेको नेपालको संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ। त्यस्तै, धारा १७ ले कानुनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भन्ने संवैधानिक सुनिश्चितता प्रदान गरेको छ। मर्यादित जीवनस्तरको प्रवर्द्धनका लागि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ समेत निर्माण गरिएको छ।
यहाँ केवल मर्यादित सीमाभित्र रही आफ्ना विचार सम्प्रेषण वा प्रसारण गर्ने, वाक् स्वतन्त्रताको प्रयोग गर्ने वा फरक मत राखेकै आधारमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठामाथि आँच आउने गरी अवरोध सिर्जना गरिएका प्रवृत्तिसँग जोड्न खोजिएको हो। सायद समाजले फरक मत, विचार–विमर्श र मर्यादित स्वतन्त्रताको मर्म बिर्सँदै गएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।
यस्ता मत राखेकै आधारमा व्यक्तिको वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठामाथि हुने चिरहरण हेर्ने वा देख्नेहरूलाई मात्र होइन, भोग्ने व्यक्तिलाई कति अपमानित महसुस हुन्छ भन्ने सहजै अनुमान गर्न सकिँदैन। वास्तवमा, यदि विचार राखेकै कारण भीडले मनोमानी प्रतिक्रिया दिन, प्रचार–प्रसार गर्न वा व्यक्तिमाथि आक्रमण गर्न पाउने हो भने, त्यो अवस्था भीडको कानुनतर्फ उन्मुख समाजको संकेत हुन सक्छ। यस्तो परिस्थितिले लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी राज्य र विधिको शासनमाथि नै प्रश्न उठाउँछ।
आलोचनात्मक प्रतिक्रियाको सम्मान हुनुपर्छ, तर त्यसको सीमा र दायरा के हो भन्ने कुरा प्रतिक्रिया दिने व्यक्तिहरूले स्वयं बुझ्नु आवश्यक छ। मेरो विचारमा, व्यक्तिको वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठाको सीमा मिचेर गरिएका प्रतिक्रियाहरू वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसूरको श्रेणीमा पर्न सक्छन्। यस्ता प्रतिक्रिया गाली–बेइज्जती वा चरित्रहत्या हुन सक्छन्।
यस्ता कार्यहरू मुलुकी अपराध संहिता, २०७४ को भाग–३ अन्तर्गत प्रतिबन्धित गरिएका छन्। प्रतिक्रियाको स्वरूपमा गाली वा बेइज्जती गर्ने कार्यहरू फौजदारी प्रकृतिका कसूर मानिन्छन्। कानुनी व्यवस्थाअनुसार, कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनमार्फत अपमानजनक शब्द प्रयोग गरेमा त्यसलाई गाली गरेको मानिन्छ। त्यसैगरी, अरूको इज्जतमा धक्का पुर्याउने नियतले, वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण हुँदाहुँदै लेख, आचरण, संकेत, चिह्न, प्रचार–प्रसार वा अन्य कुनै माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्रहत्या गरेमा, वा व्यक्तिलाई घृणित देखिने गरी दोषारोपण गरेमा, वा त्यस्तो कुरा प्रचार–प्रसार वा प्रकाशन गरेमा, वा बेइज्जती गर्ने उद्देश्यले कुनै सामग्री बिक्री–वितरण गरेमा बेइज्जती गरेको मानिने व्यवस्था छ।
यस्ता कार्यका लागि कैद, जरिवाना तथा पीडितलाई क्षतिपूर्ति भराउनेसम्मको कानुनी व्यवस्था रहेको छ।
अन्ततः सार्वजनिक प्रतिक्रियामा आलोचनात्मक चेत हुनु, फरक मत राखिनु र विचारहरूको विमर्श हुनु लोकतन्त्रको सौन्दर्य हो। तर, वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठाको सीमाभित्र रहेर विचार व्यक्त गरिँदा मात्र मर्यादित समाज, विधिको शासन र लोकतान्त्रिक पद्धतिको प्रवर्द्धन हुन्छ। यसले हाम्रो सभ्यतालाई अझ परिष्कृत, जिम्मेवार र सभ्य बनाउँछ।