© २०२३
काठमाडौ । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश प्रह्लाद योगीको इजलासले सोमबार उक्त निर्णय गरेको हो।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन्। यो प्रकरणमा लामिछानेसँग अहिलेसम्मकै उच्च धरौटी रकम माग गरिएको हो। यसअघि उनले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए।
सुप्रिम सहकारी ठगी मुद्दामा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्र बाबु राई र लामिछानेलगायत २८ प्रतिवादी छन्। यस मुद्दामा प्रतिवादीहरूमाथि ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ विगो माग दाबी गरिएको छ।
यसैगरी, लामिछानेबाट व्यक्तिगत रूपमा २ करोड विगो माग दाबी गरिएको छ। नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलसहित लामिछानेमाथि १० करोड थप विगो कायम गरी अभियोग पत्र दायर गरिएको छ।