© २०२३
दाङ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसले पाउनुपर्ने बताएका छन्। शनिबार दाङमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनमा न्यायोचित सहभागिताको माग राखेका हुन्।
उनले भने, “नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सत्तारुढ नेकपा (एमाले) को प्रस्ताव स्वीकृत गरिएको छ, त्यसैले गभर्नर पद कांग्रेसले पाउनुपर्ने न्यायोचित माग हो।” प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको प्रसंग स्मरण गराउँदै उनले वर्तमान गठबन्धन सरकारमा कांग्रेसले कम्तीमा ५० प्रतिशत हिस्सा पाउनुपर्ने धारणा राखे।
महतले सत्ता बाहिर हुँदा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले असुरक्षित महसुस गर्नु परेको अनुभव सुनाउँदै भने, “पुलिस प्रशासनमा पनि न्यायोचित कुरा राख्दा कुनै सुनुवाइ हुँदैनथ्यो।”
उनले अहिले ५० प्रतिशत हिस्सामा सन्तोष गर्नुपर्ने भए पनि त्यो ‘हुँदै नहुनेभन्दा राम्रो’ अवस्था भएको टिप्पणी गरे।