© २०२३
काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने प्रतिपक्षी दलको कदमलाई लोकतान्त्रिक मूल्य र अभ्यासविपरीत भएको स्पष्ट पारेका छन्।
आज वानेश्वरमा आयोजित नेकपा (एमाले) संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसदको नियमित प्रक्रिया रोक्न खोज्नु जनताको मत र संविधानप्रतिको अपमान भएको बताए। उनले प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद गर्न खोजे पनि जानीजानी सम्पर्कविहीन रहन खोजिएको उल्लेख गर्दै यस्तो शैलीले संसदलाई निष्क्रिय पार्ने गम्भीर संकेत दिएको बताए।
“गृहमन्त्रीमाथि कुनै उजुरी छैन, छानबिन पनि छैन। यथार्थ नबुझी राजीनामा माग्नु र त्यसकै भरमा संसद अवरुद्ध गर्नु लोकतन्त्रको अपमान हो,” प्रधानमन्त्री ओलीको टिप्पणी थियो।
प्रधानमन्त्रीले संविधानअनुसार संसद चल्नु पर्ने र लोकतन्त्रलाई संस्थागत गर्न सबै दलले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिँदै भने, “संसद व्यक्तिविशेषको रहर र दबाबले बन्द हुने होइन। हामी लोकतन्त्रमा छौँ, त्यसैले कानुनी प्रक्रिया र संवादबाट अघि बढ्नुपर्छ।”
सडकमा जे–जसले माग राखे पनि समर्थनमा दौडने र त्यसैको आधारमा संसद बन्द गर्ने प्रवृत्तिले अराजकता जन्माउने खतरा औँल्याउँदै ओलीले प्रतिगमनका शक्तिहरू यसैलाई प्रयोग गर्दै लोकतन्त्रविरोधी वातारण सिर्जना गर्न खोजिरहेको बताए।
प्रधानमन्त्री ओलीले देश गम्भीर आर्थिक तथा राजनीतिक मोडमा रहेको, बजेट प्रस्तुत भइसकेको र अब सांसदहरूले आफ्नो जिम्मेवारी बुझेको व्यवहार देखाउनु पर्ने उल्लेख गर्दै मन्त्रीहरूलाई पनि संसदीय प्रक्रिया र संवादलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
राजतन्त्र पुनःस्थापनाको बहसलाई ‘चेतनाको विपर्यास’ ठहर गर्दै ओलीले भने, “राजा जन्मिने व्यवस्था र दास मानसिकताको पक्षपोषण गर्नु २१औँ शताब्दीको लोकतान्त्रिक समाजमा लज्जास्पद हो। संसारको गति बुझ्न नसक्नेहरूसँग दया गर्न मन लाग्छ।”
सत्ता बाहिरिएका केही समूहले सरकारलाई असफल देखाउन षड्यन्त्र गरिरहेको र ‘घण्टाकर्ण प्रवृत्ति’हरूले विकासका कदममाथि पनि प्रश्न उठाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार अझ प्रभावकारी ढंगले विकास र सुशासनका दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।