© २०२३
काठमाडौ । नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको छ। समितिमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेका छन्।
महासचिव कार्कीले पब्लिक सवाललाई जानकारी दिँदै भने, “समितिको मुख्य उद्देश्य सैद्धान्तिक, राजनीतिक, र संगठनात्मक विषयहरू टुंग्याउनु हो। हामी सबै कम्युनिष्ट पार्टीहरूसँग एकता गर्नुपर्नेमा विश्वास राख्छौं। अहिले यो प्रक्रिया एकीकृत समाजवादीसँग अघि बढाइएको छ।”
एकीकृत समाजवादीले भने हालसम्म आफ्नो तर्फबाट वार्ता समिति गठन गरेको छैन। कार्कीका अनुसार, माधवकुमार नेपाल, प्रमेश हमाल, र बलराम बास्कोटासँग यस विषयमा छलफल भएको छ। उनले पब्लिक सवाललाई भने, “हाम्रो वार्ता समिति बनेपछि उहाँहरूले पनि समिति बनाउनुहुनेछ।”
बामदेव र माधवबीचको यो एकता प्रयासले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र देशभरको कम्युनिष्ट आधारलाई एकीकृत गर्ने अपेक्षा गरिएको छ।