© २०२३
काठमाडौं। मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको दुःखद निधनले नेपाली समाजलाई स्तब्ध बनाइरहेका बेला अमेरिकाको विस्कन्सिनमा बसोबास गर्दै आएका समाजसेवी लेखनाथ तिमिल्सेना र उनकी धर्मपत्नी रेश्मा तिमिल्सेनाले शोकाकुल परिवारप्रति ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग प्रदान गरेका छन्।
तिमिल्सेना दम्पतीले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। नेपालीकाे परिवारलाई रु. १ लाख १ हजार आर्थिक सहयोग हस्तान्तरण गर्दै दुःखको यस घडीमा आफूहरू परिवारसँगै रहेको सन्देश दिएका छन्। प्रवासबाट आर्थिक सहयोग गर्ने दातामध्ये हालसम्म सबैभन्दा बढी रकम सहयोग गर्ने व्यक्तिका रूपमा लेखनाथ तिमिल्सेना रहेका छन्।
व्यक्तिगत संवेदनालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने यस्ता पहलले विपद् र शोकका बेला सहयोग र सहकार्यको संस्कारलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। विशेषतः प्रवासमा रहेका नेपालीहरूले विभिन्न मानवीय संकटका समयमा देखाउँदै आएको सहयोगले नेपाली समुदायबीचको आपसी विश्वास, सद्भाव र सामाजिक एकताको भावना अझ मजबुत बन्दै गएको छ। प्रवासबाट सामाजिक सेवामा सक्रिय तिमिल्सेना दम्पती यसअघि पनि विभिन्न मानवीय तथा परोपकारी अभियानमा सहयोग गर्दै आएका छन्।
तिमिल्सेना दम्पतीको यो सहयोगले दुःखमा परेका परिवारप्रति ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुका साथै संकटका बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको महत्त्वलाई पुनः उजागर गरेको छ।