© २०२३
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टरनी’ को प्रचारात्मक गीतमा महिला शिक्षकप्रति अपमानजनक शब्द र भाव प्रयोग गरिएको भन्दै तत्काल उक्त गीत हटाउन माग गरेको छ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पब्लिक सवालसँग कुरा गर्दै उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको बताए। उनले शिक्षक समुदायको आत्मसम्मानमा चोट पुग्ने सामग्री कुनै पनि रूपमा स्वीकार्य नहुने स्पष्ट पारे।
महासंघद्वारा जारी विज्ञप्तिमा प्रचार सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतमा महिला शिक्षकलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रयोग गरिएको उल्लेख गर्दै उक्त गीत तत्काल बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।
अध्यक्ष सुवेदीका अनुसार गीत यथावत् राखिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्नेछ।
नेपाल शिक्षक महासंघले शिक्षक पेसाको सम्मान, गरिमा र सामाजिक प्रतिष्ठामाथि आँच पुग्ने कुनै पनि सामग्रीप्रति आफ्नो गम्भीर आपत्ति रहेको जनाउँदै सम्बन्धित पक्षलाई तत्काल आवश्यक सुधार गर्न आग्रह गरेको छ।