© २०२३
लक्ष्मीप्रसाद न्यौपाने – दशैंको आगमनसँगै पत्रपत्रिका र अनलाइन मिडियामा “दशैंमा पढ्नुपर्ने १० किताब”, “हेर्नुपर्ने १० फिल्म”, र “घुम्नुपर्ने १० ठाउँ” जस्ता सिफारिसहरूको बाढी नै आउन थालेको छ। यी सिफारिसहरू समाजमा एक प्रकारको प्रतिस्पर्धा सिर्जना गर्न थालेका छन्, जहाँ धेरैले दशैंको खुराक भनेर किताबको थुप्रो प्रदर्शन गरेर आफ्नो बौद्धिकता देखाउने प्रयास गर्छन्। यस्तै, फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा पनि दशैंको नाममा मछिन्द्रनाथको भोटो झैं किताबका खोल प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको छ।
त्यसो त अर्काथरि मानिसहरू दशैं बहिष्कारको अभियानमा पनि छन्। उनीहरूको लागि दशैंलाई धार्मिक वा सांस्कृतिक पर्वभन्दा फरक किसिमले हेर्ने एक अवसर हो। उनीहरूले यसलाई वर्गीय विभाजनको प्रतीकका रूपमा चित्रित गर्ने र दशैंको विरोधमा आफूलाई विद्रोही तथा क्रान्तिकारी सावित गर्ने प्रयास गर्छन्। तर, दशैंलाई केवल धार्मिक वा सांस्कृतिक सीमामा मात्र बाँधेर हेरिनु हुँदैन। यस पर्वका सामाजिक र पारिवारिक पक्षहरू अझ गहिरा र महत्त्वपूर्ण छन्।
दशैं नेपाली समाजका लागि सबैभन्दा लामो बिदाको समय हो, जसमा घरपरिवार भेला हुन्छन्। विशेष गरी वृद्ध अभिभावक, हजुरबा–हजुरआमा, र परिवारका अन्य सदस्यसँग समय बिताएर उनीहरूको जीवन भोगाइ र अनुभवबाट सिक्न सकिन्छ। यी अभिभावकहरू जिउँदा लाइब्रेरी हुन्, जसको ज्ञान कागजी किताबहरूले दिन नसक्ने गहिरो हुन्छ। दशैंको समयमा परिवारसँग बिताएको यो अमूल्य समयले आगामी वर्ष फेरि आउने नआउने कुनै निश्चितता हुँदैन।
त्यस्तै, दशैंमा लगाइने टिका पनि केवल धार्मिक संस्कार मात्र होइन। अभिभावकले निधारमा टिका लगाइदिँदा त्यो उनीहरूको तपाईंप्रतिको माया, स्नेह, र विश्वासको प्रतीक हो। यो अपनत्व र विश्वासलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्न पनि महत्त्वपूर्ण हुन्छ।
दशैंको अर्को एउटा महत्त्वपूर्ण पक्ष भनेको समाजलाई बुझ्ने अवसर पनि हो। लामो बिदामा गाउँघर फर्कँदा आफ्नो समाजलाई नजिकबाट अवलोकन गर्न सकिन्छ। समाज विज्ञानको प्रयोगशाला भनेकै समाज हो, र समाजलाई बुझ्नका लागि दशैंको जस्तो लामो अवधी उपयुक्त समय हो। गाउँमा युवाहरूको उपस्थिति कति छ, मानिसहरूको धार्मिक आस्था कस्तो छ, राजनीतिक दलहरू वा नेताप्रतिको जनसमर्थन के छ भन्ने कुराहरू अवलोकन गरेर समाजको यथार्थपरक स्थिति बुझ्न सकिन्छ।
अन्ततः, दशैंमा किताबको थुप्रोमा घोरिनुभन्दा समाजलाई बुझ्ने, परिवारसँग समय बिताउने र जीवनका यथार्थ अनुभवहरूबाट सिक्न प्रयास गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। यसले तपाईंलाई समाजको यथार्थ बुझ्न मद्दत गर्नेछ, जुन कुनै पनि किताब वा लेखहरूले दिन नसक्ने हो।