२० जेठ काठमाडौँ । नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति सङ्घर्ष र नेतृत्व रूपान्तरणको बहस उत्कर्षमा पुगेका बेला उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रतीकात्मक प्रहार गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा नेतृत्व नछाड्ने घोषणा गरेको लगत्तै उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमार्फत एउटा घतलाग्दो कथा सार्वजनिक गर्दै असन्तुष्टि पोखेका हुन्।
उनले वि.सं. २०५९ सालमा धनुषाको जनकपुरमा सम्पन्न एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा तत्कालीन एक वरिष्ठ नेता (हालका अध्यक्ष ओली) ले भाषणका क्रममा सुनाएको एउटा रोचक कथालाई दुरुस्तै उद्धृत गर्दै वर्तमान नेतृत्वको मनोविज्ञानमाथि कटाक्ष गरेका छन्।
उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा सेयर गरेको कथा जस्ताको तस्तै:
“एकजना बुढा मानिस बसमा चढेछन्। सिट खाली थिए तर उनी सिटमा बसेनन्। उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए। बाटो उबडखाबड थियो। बस गुड्न सुरु गर्यो। बस घरी दायाँ ढल्किन्थ्यो, बुढा मानिस बसको डन्डीलाई बायाँतिर जोडले तान्थे। फेरि बस बायाँ ढल्किन्थ्यो, बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे। यही रीतले बस अघि बढिरह्यो। बुढा मानिस सोही क्रिया गरिरहे। बुढा असिनपसिन भए। बस गन्तव्यमा पुगेर रोकियो। सबै यात्री बाहिर निस्के। बुढाले सबैलाई जम्मा गरेर भने– आज तपाईंहरू सबै मेरो कारणले बच्नुभयो। यात्रीहरू छक्क परेर सोधे– कसरी? बुढाले सगौरव भने– पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बच्नुभयो।”नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर)बन्द सत्रमा पार्टीका एकजना बरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो ।
“ एकजना बुढ़ा मानिस बसमा चढ़ेछन । सीट खाली थिए तर ऊनी सीटमा बसेनन । उभिएर बसभित्रको फ़लामको डंडी च्याप्प समाए । बाटो उबड खवाड थियो । बस गुडन शुरु गर्यों । बस घरी दयाँ ढलकिन्थ्यो बुढा मानिस बसको डंडीलाई बायाँ तिर जोडले तन्थे । फेरी बस बायाँ ढलकिन्थ्यो बुढ़ा मानिस डंडीलाई जोडले दायाँ तान्थे । यही रीतले बस अघि बढी रह्यो । बुढ़ा मानिस सोही क्रिया गरिरहे । बुढ़ा असिन पसिन भए । बस गन्तब्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढ़ाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरु सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी । बुढ़ाले सगौरब भने पल्टिन लागेको बसलाई डंडीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईंहरू बच्नु भयो ।”
आज मलाई यो कथाको खुब सम्झना भयो ।
कथाको अन्त्यमा उपमहासचिव भट्टराईले छोटो वाक्य थप्दै लेखेका छन्, “आज मलाई यो कथाको खुब सम्झना भयो।”
यो कथा सामान्य संस्मरण मात्र नभएर एमालेभित्र चुलिएको गम्भीर नीतिगत र नेतृत्व तहको विवादको प्रतिविम्ब भएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ। यसका पछाडि मुख्य चारवटा राजनीतिक कारणहरू र हालैका घटनाक्रमहरू जोडिएका छन्
१. ओलीको अडान र योगेशको राजीनामा माग: हालै सम्पन्न एमालेको केन्द्रीय सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीसमक्ष “अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्” भन्दै सिधै राजीनामा माग गरेका थिए। तर, प्रत्युत्तरमा ओलीले पार्टीको एक कार्यशाला उद्घाटन गर्दै ‘टाउको काटेर सङ्गठन बलियो नहुने’ र आफूले कुनै पनि हालतमा ‘अध्यक्ष पद नछाड्ने’ अडान दोहोर्याएका थिए। ओलीको सोही अडान आउनासाथ भट्टराईले यो कथा बाहिर ल्याएका हुन्।
२. संसदीय दलको नेता चयनमा असन्तुष्टि: एमालेभित्र हालै संसदीय दलको नेता चयन गर्ने विधि र शैलीलाई लिएर भट्टराईले औपचारिक रूपमै गम्भीर आपत्ति जनाएका थिए। निर्वाचनमा गम्भीर धक्का लागेको बेला पर्याप्त छलफल नै नगरी दबाबमा नेता चुनिएको भन्दै उनले असन्तुष्टि पोखेका थिए।
३. जिम्मेवारीबाट पन्छाउने रणनीति: हालै गुण्डुमा बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई प्रमुख साङ्गठनिक जिम्मेवारीहरूबाट अलग गरी कम प्रभावकारी मानिने ‘नीति तथा योजना विभाग’ मा सीमित गरिदिएको थियो। पार्टीभित्र फरक मत राखेका कारण ओलीले आफूलाई ‘साइडलाइन’ गर्न खोजेको भट्टराई पक्षको बुझाइ छ।
४. निर्वाचन समीक्षा र रूपान्तरणको माग: आम निर्वाचनमा जनताले एमालेको वर्तमान नीति र नेतृत्वलाई अस्वीकार गरिसकेको भन्दै भट्टराईले निरन्तर पार्टीको समग्र पुनर्गठन र समीक्षाको वकालत गर्दै आएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार भट्टराईले यो कथामार्फत ओलीलाई नै ‘बुढा यात्रु’ को संज्ञा दिएका हुन्। “आफू नभए पार्टी नै पल्टिन्छ, मेरै एकल बल र लौरोले एमाले थामिएको छ र बाँकी सबै यात्रु मात्र हुन्” भन्ने जुन भ्रम नेतृत्वमा छ, त्यसलाई भट्टराईले सार्वजनिक रूपमै चुनौती दिएको देखिन्छ। ओलीकै पुरानो अस्त्र प्रयोग गरेर ओलीमाथि नै प्रहार गर्ने भट्टराईको यो शैलीले आगामी दिनमा एमालेभित्रको आन्तरिक सङ्घर्ष झन् वारपारको स्थितिमा पुग्ने सङ्केत गरेको छ।