© २०२३
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन र दण्डहीनताविरुद्ध लड्ने स्पष्ट योजना र इच्छाशक्ति नदेखिएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ सांसद अर्जुन नरसिंह केसीले गम्भीर आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले नीति तथा कार्यक्रम जनताको आय सुनिश्चित गर्ने र सामाजिक न्याय स्थापना गर्ने दिशामा केन्द्रित हुनु पर्नेमा त्यसको झल्कोसमेत नदेखिएको आरोप लगाए। उनका अनुसार, “देश अहिले भ्रष्टाचार र ऋणको भारीले थलिएको अवस्थामा छ, तर सरकार गम्भीर देखिँदैन।”
सांसद केसीले पछिल्ला १० महिनामा दुई तिहाइको समर्थन प्राप्त सरकारबाट पुँजीगत खर्च एक तिहाइ पनि नभएको तथ्य औंल्याउँदै, कार्यक्षमतामा गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार हालसम्म जम्मा ३१ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ, जुन सरकारको कमजोरीको स्पष्ट संकेत हो।
त्यस्तै, उनले संक्रमणकालीन न्यायका सवालमा पनि सरकार असंवेदनशील भएको बताए। “१८ वर्षसम्म अल्झिएको मेलमिलाप प्रक्रिया अझै अघि बढ्न सकेको छैन, मेलमिलाप आयोगसमेत गठन हुन नसक्नु दुःखद छ,” केसीले भने।
सांसद केसीका अनुसार, वर्तमान अवस्थामा सरकारको प्राथमिकता र प्रतिबद्धता दुबै कमजोर देखिन्छन्, जसले लोकतान्त्रिक मूल्य र जनताको विश्वासमा चोट पुर्याइरहेको छ ।