© २०२३
२९ साउन काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेटेर रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल गरेका छन् ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी चुनावको मिति तय गर्न र मितव्ययीता अपनाउन आग्रह गर्नुभएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
चुनावको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।
आयोगको तथ्याङ्क अनुसार नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष २८ गरी ३४ पद रिक्त छ ।