© २०२३
२२ भदौ, झापा — बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) अध्यापनका लागि ५० जना विद्यार्थीको सिट स्वीकृति पाएको छ। लामो पर्खाइपछि पहिलो पटक बीएन्डसीले यो अनुमति पाएको हो।
कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक वर्षका लागि ५० जना विद्यार्थीलाई अध्यापन गराउने निर्णय गरेको छ, र सार्वजनिक सूचना समेत जारी भइसकेको छ।
बीएन्डसी मेडिकल कलेज सन् २०१४ (वि.सं. २०७१) देखि ३०० शय्याको अस्पतालसहित झापाको विर्तामोडमा सञ्चालनमा आएको हो। नेपाल सरकारले २०६४ सालमै मनसाय पत्र प्रदान गरेको भए पनि एमबीबीएस अध्यापनका लागि आवश्यक स्वीकृति पाउन लामो समय लागेको थियो।
२०८० चैत्रमा सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएको थियो। कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन छिट्टै सुरु हुने जानकारी दिए।
विर्तामोडमा सुविधासम्पन्न अस्पताल र धाइजनमा बेसिक साइन्स भवनको पूर्वाधारसमेत तयार भइसकेको छ। बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा करिब दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
यो स्थानीयबासीका लागि महत्त्वपूर्ण उपलब्धि र खुशीको विषय भएको जनाइएको छ।