© २०२३
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले संसद् र सरकारले शिक्षा ऐन संशोधन र पारित गर्न गम्भीरता देखाउनुपर्ने बताएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आयोजना गरेको ‘प्रस्तावित शिक्षा विधेयक तथा समसामयिक शैक्षिक सवाल’ अन्तर्क्रिया कार्यक्रममा महरले शिक्षा ऐन सबै सरोकारवालाको स्वामित्व सुनिश्चित हुने गरी अघि बढाउनुपर्नेमा जोड दिए।
उनले शिक्षा ऐनको प्राथमिकता गुणस्तरीय शिक्षा हुनुपर्ने बताउँदै भने, “फास्ट ट्र्याक प्रक्रियाको नाममा पेसागत र श्रमजीवी संगठनसँग भएका सम्झौता कार्यान्वयन गर्न ढिलासुस्ती गर्नु हुँदैन। राजनीतिक दलको सहकार्य बिना ऐन पारित गर्न सकिँदैन।”
नेता महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रको रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको बताए। “विविध सांस्कृतिक सम्पदा, असंलग्न परराष्ट्र नीति, न्यून सेवा शुल्क र स्थिर भूराजनीतिक वातावरण विदेशी विद्यार्थीलाई आकर्षित गर्न उपयुक्त छ,” उनले भने। महरले विदेशी विश्वविद्यालयसँग सहकार्य गर्ने र नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने आवश्यकता पनि औंल्याए।
उनले अध्ययन भिसा प्रावधान तत्काल लागू गर्नुपर्ने बताउँदै यसले शिक्षा क्षेत्रको विकाससँगै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
शिक्षा क्षेत्रमा सुधारका लागि संविधान संशोधन आवश्यक रहेको उनले उल्लेख गरे। “संविधानले शिक्षाका अधिकार सुनिश्चित गर्नु पर्याप्त छैन। संघीय संरचनामा शिक्षाको जिम्मेवारी र अधिकारको स्पष्ट बाँडफाँड गर्न संशोधन जरुरी छ,” महरले भने।
महरले नेपाली कांग्रेसले शिक्षा नीति निर्माणमा विशेष सक्रियता देखाइरहेको बताए। “हामी १६५ निर्वाचन क्षेत्रमा नागरिक र बुद्धिजीवीसँग परामर्श गरी समावेशी नीति निर्माणको अभियान सञ्चालन गरिरहेका छौं,” उनले भने।
नेता महरले शिक्षा ऐनलाई पारदर्शी, समावेशी र सबल बनाउन सरकार र सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिए। “सरोकारवालाको अपनत्व र गम्भीरताका साथ अघि बढे मात्र शिक्षा ऐनले सफल कार्यान्वयन पाउनेछ,” उनले बताए।