© २०२३
काठमाडौं, १६ भदौ २०८१ – पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बङ्गलादेशमा निर्यात गरिएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेले जानकारी दिए अनुसार, यस अवधिमा कुल नौ हजार ७४१.६५ मेट्रिक टन खुदो बङ्गलादेश पठाइएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार ५५५.६ मेट्रिक टन खुदो, जसको मूल्य पाँच करोड ३१ लाख ९७ हजार रुपैयाँ रहेको छ, निर्यात गरिएको छ।
व्यवसायी र क्लियरिङ एजेन्ट नवीन दाहालका अनुसार, भारतले बङ्गलादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएकोले नेपालबाट यसको मागमा वृद्धि भएको छ। उनले भने, “भारतबाट निर्यात भइरहेको खुदोमा कर लगाउँदा नेपालबाट बङ्गलादेशमा निर्यातको अवसर बढ्नेछ।”
आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै खुदोको निर्यातमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ। पाण्डेले भने, “नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी र बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै निर्यात भइरहेको छ।”