© २०२३
काठमाडौ । भारत र चीनबीच लिपुलेक सन्दर्भमा भएको सहमतिले नेपाललाई कुनै प्रभाव नपर्ने सरकारी निष्कर्ष सार्वजनिक भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त सहमति नेपालको हित विपरीत नभएको स्पष्ट पारेका छन्।
पुस ३ मा चीनको राजधानी बेइजिङमा भारतीय र चिनियाँ विशेष प्रतिनिधिहरूको बैठक बसेर तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने सहमति भएको थियो। नेपालले आफ्नो दाबी गरिरहेको लिपुलेक क्षेत्र हुँदै तीर्थयात्रा खुलाउने सहमति हुँदा नेपाल पक्ष भने सहभागी थिएन। यस विषयमा राजनीतिक वृत्तमा टिकाटिप्पणी सुरु भएको अवस्थामा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको हो।
मन्त्री गुरुङका अनुसार उक्त सहमतिबारे मन्त्रिपरिषद् बैठकमा पनि गहन छलफल भएको थियो। उनले भने, “क्याबिनेटमा विस्तृत छलफल भयो। तर, निष्कर्षमा हामीले यसलाई चिन्ता लिनुपर्ने खालको सम्झौता नभएको ठहर गरेका छौं।”
लिपुलेक नेपालको भूमिसँग जोडिएको विवादित क्षेत्र हो। सरकारले भारत र चीनबीचको सहमतिलाई गम्भीरतापूर्वक लिए पनि यसले नेपालको हकहितमा कुनै नोक्सान नगर्ने दाबी गरेको छ।