© २०२३
प्रधानमन्त्री ओली र पाकिस्तानी राजदूतबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटघाटका क्रममा व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा, र संस्कृति जस्ता विविध क्षेत्रमा सहकार्य र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउने कार्यमा नेपालले अध्यक्ष मुलुकको हैसियतले पहलकदमी गरिरहेको उल्लेख गर्दै, सदस्य राष्ट्रहरूले पनि यसलाई सबल बनाउन रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। उनले द्विपक्षीय समस्याहरूले क्षेत्रीय सहयोगलाई अवरोध गर्न नहुने धारणा राख्दै, नेपालको परराष्ट्र नीतिमा आधारित ‘सबैसँग मित्रता, कसैसँग शत्रुता होइन’ भन्ने दृष्टिकोण प्रस्तुत गरे।
राजदूत हस्मीले पाकिस्तानमा आगामी सार्क शिखर सम्मेलन आयोजना गर्न आफूहरू तयार रहेको जानकारी गराउँदै नेपालसँग अन्य विविध क्षेत्रमा सहकार्यका लागि आफ्नो देश इच्छुक रहेको बताए।
दुवै पक्षले द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगका विभिन्न आयामहरूमा थप संवाद र सहकार्य आवश्यक रहेकोमा सहमति जनाए।