© २०२३
काठमाडौं: अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गरेर हत्या गरेको आरोपमा बबी सिंह पक्राउ परेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार, सिंहमाथि जघन्य हत्याको अभियोग लगाइएको छ, जसका लागि अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुने कानुनी व्यवस्था रहेको छ।
प्रारम्भिक विवरणहरूअनुसार, मुनाको हत्या लुटपाटको क्रममा भएको हुनसक्ने आशंका अदालती कागजातमा गरिएको छ, तर यो पुष्टि भने हुन सकेको छैन। ५१ वर्षीय बबी सिंहलाई गैरकानुनी रूपमा हतियार राखेको आरोप पनि लगाइएको छ।
प्रहरीले मुनाको हत्यामा संलग्न व्यक्तिको फोटो सार्वजनिक गरेपछि, उनलाई ट्राफिक स्टपमा पक्राउ गरिएको हो। ह्युष्टन प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि, सोही साँझ सिंहलाई पक्राउ गरेको बताइएको छ। स्थानीय समयअनुसार, बुधवार साँझ करिब आठ बजेतिर ट्राफिक स्टपमा ती व्यक्ति समातिएका थिए।
हालसम्म, मुनाको हत्या किन र कसरी भएको भन्ने स्पष्ट विवरणहरू सार्वजनिक भएका छैनन्। ह्युष्टनमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूले हत्याराको पहिचान र पक्राउमा सहयोग गरिरहेका थिए।
यसैबीच, मुनाको अन्तिम संस्कार र उनकी आमाको सहयोगार्थ रकम संकलन अभियान पनि सुरु भएको छ। मुनाको एकल अभिभावक उनकी आमा अनिता पाण्डेको सहयोगार्थ विभिन्न नेपाली संस्थाहरूले रकम संकलन अभियान सञ्चालन गरेका छन्।
नेपाली समुदायका संस्थाहरू, जस्तै नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), ग्रेटर ह्युस्टन नेप्लिज च्याम्बर अफ कमर्स, गुल्मी समाज, क्रियटिभ नेप्लिज सोसाइटी, र नेप्लिज हेरिटेज यूनियनले यस अभियानमा सबैले सकेको सहयोग गरिदिन अपील गरेका छन्।