© २०२३
काठमाडौं । सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ। सोमबार एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरिएको छ, जुन आइतबारको मूल्यभन्दा १५ हजार ९ सय रुपैयाँले कम हो।
आइतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सरकारको अर्थ मन्त्रालयले सुनको भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि यस्तो उच्च गिरावट आएको हो। साथै, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्नुले यसमा थप प्रभाव पारेको व्यवसायीहरूले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार भन्सारदरमा भएको परिवर्तन र अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण मूल्यमा यो गिरावट देखिएको हो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको १ हजार ९६० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ११५ रुपैयाँले घटेर तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।