© २०२३
काठमाडौं, ६ असार । कुनैपनि बेला सत्ता गठबन्धन परिवर्तन हुने संकेत देखिइसकेको छ । प्रधानमन्त्री प्रचण्डले त्यसको संकेत दिइसकेका छन् । उनले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा अध्यक्ष रवि लामिछानेलाई टेर्न छाडिसके ।
ओलीले राजदूत नयाँ बनाउन दबाब दिएपनि प्रचण्ड तयार भएनन् । लामिछानेले आइजीपी बसन्त कुँवरलाई हटाउन खोज्दा पनि मानेनन् । यसले पनि नयाँ दरार पैदा भएको देखिइसकेको छ ।
ओलीसँग असन्तुष्ट बनेका प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग विभिन्न चरणमा नयाँ गठबन्धनका लागि छलफल गरेका हुन् । विश्वस्त स्रोतका अनुसार प्रचण्ड ओली र रवि लामिछाने दुवैको गतिविधिप्रति सतर्क बनेका हुन् । ओलीले लामिछानेलाई हदैसम्म संरक्षण दिएकोमा उनको आपत्ति छ ।
गिरिबन्धु टी स्टेटको जग्गा सम्बन्धी चलखेलमा फेरि क्याबिनेटबाट कानून परिमार्जनका लागि ओलीले दबाब दिएको बुझिएको छ । यसबाट प्रचण्ड झस्किएका छन् । राजदूत फिर्ता बोलाउन ओलीले दबाब दिएर लिएको निर्णय कार्यान्वयन गर्न पनि प्रचण्ड तयार छैनन् । बजेटका सम्बन्धमा ओलीनिकटहरुबाट असन्तुष्टि सुनिएको छ । यसले पनि गठबन्धनमा दरार पैदा भएको स्पष्ट छ । प्रचण्डले अब पुरानै गठबन्धन बनाउने र त्यसमा लेनदेन गर्ने तयारी गरेका छन् । उनी सकेसम्म अर्को ३ वर्ष सरकारको नेतृत्व चाहन्छन् । देउवा त्यसमा तयार भए प्रचण्डले काँग्रेससँगको गठबन्धन बनाउने बुझिएको छ ।