© २०२३
सन्तोष प्रसाद जोशी
बाजुरा जिल्लाको अति दुर्गम बुढिनन्दा नगरपालिकाको कोल्टी अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभग्राही लाभान्वित भएका छन् । कोल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा बिहिवारबाट सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।
शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी रोगको निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला नेपालले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा १७ सय ११ जना बिरामीले नाम दर्ता गएका थिए भने २ हजार १ सय २९ प्रकारको सेवा प्रदान गरिएको एक एक पाईला फाउन्डेसनका व्यवस्थापक आशिष भट्टराईले बताएका छन् । १ सय ६८ जना बिरामीको आँखाको मोतिविन्दु सल्यक्रिया भएको छ भने १ हजार १ सय ३६ जना बिरामीको आँखाको उपचार सहित औषधी वितरण गरिएको उनले बताए ।
शिविरमा ३ सय ७२ जना दातका बिरामीको उपचार गरिएको थियो भने १ सय ८० जनाको दात निकाल्ने काम भएको अस्पतालले जानकारी गराएको छ । नाक,कान र घाँटी सम्बन्धि ६ सय २१ जना बिरामीलाई चेकजाँच गरेर औषधी वितरण गरिएको र २० जना कानका बिरामीको अप्रेसन भएको जनाएको छ ।
कोल्टी अस्पतालमा तीन दिनसम्म संचालन भएको शिविरमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला ,मुगु र कालिकोटका नागरिकले सेवा लिएको कोल्टी अस्पतालका प्रमुख डाक्टर रन्जित शाहले बताए ।
आर्थिक अवस्था कमजोर भएर उपचार गराउन समस्यामा परेका नागरिकलाई सेवा दिने उदेश्यले यो शिविरको आयोजना गरिनुका साथै एकएक पाईला फाउन्डेसन र बुढीनन्दा नगर पालिका बीच भएको सम्झौता अनुसार पाँच बर्षसम्म प्रत्येक बर्ष शिविरको आयोजना गर्ने बुढीनन्दा नगर पालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।