© २०२३
काठमाडौं, २ जेठ । लामो सहकार्य तोड्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बदला लिने गरी सक्रिय भएका छन् । कुनैबेला माओवादीको प्रभावलाई रोक्न गौर हत्याकाण्ड गराएको आरोप लागेका उपेन्द्रले प्रचण्डलाई धक्का दिन कुनैपनि प्रकारको राजनीतिक काण्ड मच्चाउने सम्भावना बढेको छ ।
उपेन्द्र आफूविरुद्ध लागेको बुझेर प्रचण्डले नयाँ चाल चलेर पार्टी फुटाएको धेरैको बुझाई छ । जसपा नेपाल फुटाउन प्रचण्ड नै लागेको बुझाई उपेन्द्रको पनि छ । फुटेको पार्टीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिएका छन् ।
आफूलाई प्रचण्डले ठूलो धोका दिएको भन्दै उपेन्द्र मधेशवादी नेतासँग बाक्लो भेटघाटमा सक्रिय छन् । महन्थ ठाकुरसँगको भेटमा त उनले प्रचण्डबाट धोका भएको खुलेरै बोले ।
उपेन्द्रले उपयुक्त समयमा प्रचण्डलाई देखाइदिने बताएको विश्वस्त स्रोतले बताएको छ । कुनैपनि बेला सरकार बनाउने र ढाल्ने खेल हुने देखिइसकेको छ । त्यतिबेला उपेन्द्र प्रचण्डको विपक्षमा उभिन सक्छन् ।
अब हुने चुनावमा प्रचण्डसँग उपेन्द्रले सहकार्य नगरेमा मधेशमा ठूलै असर पर्न सक्छ । त्यतिबेला देखाइदिने भन्दै उपेन्द्र चिढिएको बुझिएको छ ।
उपेन्द्रले माधवकुमार नेपालसँग मिलेर प्रचण्ड सरकारको विकल्प खोज्ने प्रयासलाई छाडेका छैनन् । उनी अदालत पनि गएका छन् र जसपा विभाजनलाई असंवैधानिक देखाउन सके सफलतातर्फ बढ्नसक्छन् । अर्कोतर्फ, संसदको अंकगणितको खेल फेरि चल्न सक्छ ।