© २०२३
काठमाडौं, १ जेठ । सत्ता राजनीतिको खेलमा डेढ वर्षभित्र दुईपटक सत्ता गठबन्धन परिवर्तन गरेका प्रधानमन्त्री प्रचण्ड यतिबेला घेराबन्दीमा परेका छन् । उनी सत्ता गठबन्धनभित्रै घेराबन्दीमा परेका हुन् ।
उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विषयमा नेपाली काँग्रेसले संसदीय छानविनको माग गरी सदन नै अवरुद्ध गर्दै आएको छ । प्रचण्ड यसबारे मध्यमार्गी मार्ग अपनाएर कुरा मिलाउने प्रयासमा छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मानेका छैनन् । लामिछाने मान्ने कुरै भएन ।
लामिछानेको दलले साथ नदिए प्रचण्ड अल्पमतमा पर्छन् । त्यसैले उनी अप्ठ्यारोमा छन् । नेपाली काँग्रेससँग फेरि गठबन्धनको सम्भावना कमजोर छ ।
प्रचण्डमाथि जसपा नेपाल फुटाएको आरोप छ । उपेन्द्र यादव गठबन्धनबाट बाहिरिइसकेका छन् ।
कुनैपनि बेला नेकपा एसले साथ छाड्न सक्छ । माधव नेपालका लागि प्रचण्डलाई साथ दिनु वाध्यात्मक बनेको छ ।
यसरी प्रचण्ड सत्ता गठबन्धनभित्रबाट नै घेराबन्दीमा परेका छन् । विगतको तिक्तता ओलीसँग मेटिइसकेको छैन । कुनैपनि बेला ओलीले बदला लिन सक्ने सम्भावना उत्तिकै छ ।
यसकारण प्रचण्ड घेराबन्दीमा छन् र यसलाई तोड्न सहज छैन । उनले चाँडै नयाँ तरंग ल्याउने सम्भावना देखिएको छ । विगतमा पनि घेराबन्दी तोड्दै आएकामा यसपटक के गर्लान् हेर्न बाँकी छ ।