© २०२३
काठमाडौं, २६ चैत्र । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारहरु सक्रिय भएका छन् । उनीहरु घरदैलो मात्र नभई स्थानीय तहमा भोट बैंकहरुसँग आन्तरिक परामर्श गरिरहेक छन् ।
इलाममा मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आ आफ्नै राजनीतिक तथा व्यक्तिगत उद्देश्यले मैदानमा उत्रिएका छन् ।
इलामको चुनावमा जातीय तथा क्षेत्रीय मुद्दा पनि उठेको छ । अधिकांश जनजाति उम्मेदवार देखिएका छन् । नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एसका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवार छन् ।
राप्रपा नेपालका गणेशबहादुर चौकान, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुना, नेमकिपाका श्यामबहादुर दर्जी र विभिन्न जातीय संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बू थेगिमले पनि उम्मेदवार छन् ।
केशवकुमार चापागाई, डाकप्रसाद गौतम, दिपेश बोहरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल स्वतन्त्र उम्मेदवार छन् ।
सुहाङ बाबु सुभाष नेम्वाङको निधनपछि एमालेको टिकट पाउन सफल भएका हुन् । काँग्रेसका खड्का नेम्वाङसँग झीनो मतान्तरले २०७९ को मंसिरमा पराजित भएका थिए ।
पत्रकारिताबाट राजनीतिमा उत्रिएका मिलन लिम्बू कम्युनिस्ट पृष्ठभूमिका हुन् । रास्वपाले उनलाई उतारेर आफ्नो प्रभावको पुनः परीक्षण गर्न खोजेको देखिन्छ । डकेन्द्र सिंह लिम्बू जातीय मुद्दा बोकेर बढेका छन् ।