© २०२३
काठमाडौं, २७ वैशाख । संसदभित्र र बाहिर नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आरोप प्रत्यारोप फैलिएको छ । शुक्रबार संसदमा बोल्दै काँग्रेस महामन्त्री गगन थापाले रास्वपा अध्यक्ष रवि लामिछानेमाथि गम्भीर आरोप लगाए ।
थापाले लामिछानेविरुद्ध आफै फारम भरेर सहकारीबाट ऋण लिएको आरोप लगाए । संसदमा थापाको अभिव्यक्तिले तरंग नै ल्यायो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेले साँझ सामाजिक सञ्जालमा गगन थापालाई चुनौती दिदै आफूमाथिको आरोप प्रमाणित गरे राजनीति नै छाड्ने बताए । उनले फेसबुकमा लेखेका छन्, काँग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैंले खुद आफैले फारम भरेर उक्त सहकारीबाट ऋण मागेको लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छाडिदिन्छु । तर, लामिछानेले आरोप प्रमाणित नभए गगन थापाले राजनीति छाड्न तयार हुनुपर्ने समेत बताएका छन् ।
उनले गगन थापालाई चुनौती दिदै अगाडि लेखेका छन्, प्रमाणित नगरे तपाईँ राजनीति छोड्न तयार हो ? लामिछानेले किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिएको समेत आरोप लगाए ।
लामिछानेले आफूलाई बदनाम मात्र गर्न खोजेको दाबी गरेका छन् । आफूमाथि संसदीय छानबिन समितिको माग गर्दै काँग्रेसले दोकान चलाएको उनको आरोप थियो ।