© २०२३
काठमाडौं, २८ वैशाख । रवि लामिछाने जसरी चाँडै राजनीतिमा उदाए त्यसरी नै चाँडै सकिने परिस्थिति विकास भएको छ । सतहमा हेर्दा लामिछानेविरुद्ध काँग्रेस मरिमेटेर लागेको देखिएपनि उनलाई काखमा राखेर छुरा हान्नेमा सत्तारुढ दलकै प्रभावशाली नेताहरु छन् ।
लामिछानेलाई सबैभन्दा बढी साथ दिनेमा एमाले अध्यक्ष केपी शर्मा ओली देखिएका छन् । तर, उनै ओलीले लामिछानेलाई खियाउने गरी भित्री गतिविधि गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि लामिछानेलाई साइजमा ल्याउन लागेका छन् । लामिछानेलाई साइजमा नल्याए प्रचण्डलाई अर्को चुनाव चितवन होस् या गोरखा दुवैबाट जित्न कठिन छ ।
अहिले विशेषगरी नेपाली काँग्रेस लामिछानेविरुद्ध उत्रियो । लोकतान्त्रिक धारका पुस्ता रास्वपामा आकर्षित भएकाले पनि काँग्रेस झस्कियो ।
कम्युनिस्ट मत एमाले र माओवादीलाई नै बढी जाने परम्परा कायम छ । तर, गैरकम्युनिस्ट शक्तिमा काँग्रेसबाहेक अर्को सशक्त विकल्प नभएकाले पनि उसैको पल्लाभारी हुदै आयो । तर, परिस्थिति फेरिन थाल्यो लामिछानेका कारण ।
एमाले र माओवादीले पनि काँग्रेसलाई चुनावमा या सरकार निर्माणमा अप्ठ्यारोमा पार्न रास्वपालाई नै अघि सार्न थाले । त्यसपछि काँग्रेस झन् कडा रुपमा प्रस्तुत हुन थाल्यो । रवि लामिछाने काँग्रेसको तारोमा पर्दै आयो ।
सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध काँग्रेस कडा रुपमा प्रस्तुत भएको छ । छानविन समिति नै गठनको मुद्दा सारेको छ । काँग्रेस यो मुद्दामा पछि हट्न मानेको छैन ।
लामिछाने छटपटीमा छन् काँग्रेसका कारण । उनीनिकटस्थ पनि तारोमा परेका छन् । यसले काँग्रेस र रास्वपाबीच टकराव झन् बढ्दै गएको छ । यसले दुवैलाई कहाँ पुर्याउने हो प्रतिक्षाको विषय बनेको छ ।