© २०२३
काठमाडौं, २७ वैशाख । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कुनैपनि बेला सरकारबाट हटाइए आश्चर्य नमाने हुन्छ । लामो समययता माओवादी अध्यक्ष प्रचण्डको विश्वास गर्दा गर्दा एम्बुसमा पारिएका उपेन्द्र राजनीतिक जीवनमै कमजोर अवस्थामा पुगेका छन् ।
गौर हत्याकाण्डको दोषी ठहर भई जेल पर्ने भय उत्तिकै छ उपेन्द्रलाई । अर्कोतर्फ, पार्टी फुटेको पीडा छँदैछ । अब भने उनी या त सरकार छाड्नुपर्ने वाध्यतामा पर्नेछन् या त हटाइनेछन् ।
उपेन्द्र नेतत्वको दल जनता समाजवादी पार्टी, नेपाल प्रचण्ड ओलीको योजनामा फुटाइदिदा पनि यादव टाँसिइरहेका छन् ।
विश्वस्त स्रोतका अनुसार पार्टी फुटेपछि यादव स्वतः सरकारबाट हट्नेमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्वस्त थिए । तर, यादवले त्यसो गरेनन् ।
अब यादवलाई हटाउन प्रचण्ड र ओलीले अर्को रणनीति बनाएको बुझिएको छ । मधेश प्रदेशमा मुख्यमन्त्री रहेका जसपा, नेपालका नेता सरोज यादवलाई हटाउने तयारी भएको छ ।
माओवादी केन्द्रले यादवलाई दिइआएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीबाट मधेश प्रदेशका संसदीय दलका नेता भरत साहले हेडक्वार्टरबाट ग्रिन सिग्नल पाइसकेको बुझिएको छ ।
मधेश प्रदेशको सरोज यादव नेतृत्वको सरकार ढल्ने अवस्था बनाइएमा भने उपेन्द्र यादवमाथि नैतिक संकट पर्न सक्छ । त्यो अवस्था निर्माणको भित्री तयारी चलिरहेको छ ।