© २०२३
काठमाडौं, २४ वैशाख । जातीय एजेन्डा र मौकामा चौका हान्न उत्रिएर आकार बनाएका नयाँ शक्तिहरु कमजोर हुन थालेका छन् । उनीहरुलाई परम्परागत शक्तिले सत्ताको चास्नीमा डुबाएका छन् या त सत्ताको हड्डी फालेर जुधाउन थालेका छन् । यसकारण उनीहरुमा विवाद र फुट चल्न थालेको छ ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउँदा सबैभन्दा बढी कम्पन नागरिक उन्मुक्ति पार्टीमा आयो । उक्त पार्टीमा पतिपत्नीबीच ठूलै झगडा भयो । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र अध्यक्ष बनाइएकी उनकी पत्नी रञ्जना श्रेष्ठबीच विवाद छताछुल्ल भयो । सरकारमा जाने कि नजाने विषयमा अझै विवाद छ ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दा रेशम र रञ्जना पक्षधर दुईजना देखिए । यो घटना संसदीय इतिहासमा रोचक बन्यो । तर, कसैको हातमा केही लागेन । नागरिक उन्मुक्ति पार्टी घरझगडाले बदनाम भयो ।
प्रचण्ड सरकार ढाल्ने खेल चलिरहँदा जसपा आइतबार फुट्यो । जसपामा अशोक राई पक्षधर ७ सांसदले नयाँ दल दर्ताको निवेदन हाले । जसमा मन्त्री बनाइएका नवलकिशोर साह समेत छन् । उपेन्द्रनिकट मानिएका प्रदीप यादव पनि फुटको पक्षमा लागे ।
माधव नेपाल नेतृत्वको नेकपा एसलाई फुटाउने खेल पनि चलिरहेको छ । यो खेलमा मुख्य भूमिका एमाले अध्यक्ष केपी ओलीले खेलिरहेका छन् ।
सत्ता संघर्षको खेलमा रास्वपाभित्र पनि धाँजा फाट्दै गएको छ । रवि लामिछाने अप्ठ्यारोमा छन् यतिबेला ।
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि विवाद भित्र भित्र चलिरहेको छ । राप्रपा पनि सत्ता संघर्षको खेलमा लागेमा कुनैपनि बेला धाँजा फाट्न सक्छ ।
मुख्य दलहरुले सत्ताको खेलमा साना दललाई कमजोर बनाउने रणनीति अन्तर्गत यी घटना विकास भएको छ ।