© २०२३
काठमाडौं, २५ चैत्र । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीको नियुक्तिले तरंग आएको छ । उनको नियुक्तिलाई असंवैधानिक भन्दै विपक्षी नेपाली काँग्रेसले विरोध गरेको छ ।
सर्वोच्च अदालतले सभामुखसहित गणना गरेर बहुमत पुर्याउन नमिल्ने संविधानको व्याख्या गरिसकेको अवस्थामा अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको हो ।
गण्डकीमा माओवादी केन्द्रबाट सांसद रहेका कृष्ण धिताल सभामुख छन् । उनको समेत गणना गरेर बहुमत देखाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनको असंवैधानिक नियुक्ति गरेका हुन् । यसबारे मुद्दा दर्ता हुने तयारी भइसकेको छ ।
गण्डकीमा सभामुख धितालसहित माओवादी केन्द्रका ८, एमालेका २२ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जनाको समर्थन देखाइएको छ ।
गत वर्षको असारमा कोशी प्रदेशमा काँग्रेसका उद्धव थापाले माओवादी केन्द्रबाट निर्वाचित भई सभामुख बनेका सांसद बाबुराम गौतमलाई समेत गणना गरेर मुख्यमन्त्री बन्दा सर्वोच्च अदालतले असंवैधानिक भन्दै थापाको नियुक्ति बदर गरेको थियो । यस्तै प्रकृतिमा खगराज अधिकारी असंवैधानिक तरिकाले मुख्यमन्त्री बनेका छन् ।