© २०२३
काठमाडौं, १८ वैशाख । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । २०७९ को मंसिरमा भएको चुनावमा इलाम २ मा सुभाषचन्द्र नेम्वाङले चुनाव जित्दा ३० हजार मत कटाएका थिए । उनको निधनपछि रिक्त सिटको उपनिर्वाचनमा उनका छोरा सुहाङ नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे ।
सुहाङको मत बाबुको भन्दा झण्डै २५ सयले मात्र कम हो । यसबाट पनि एमालेको मत सुरक्षित देखिन्छ त्यहाँ ।
नेपाली काँग्रेसबा डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनले २०७९ को चुनावमा झण्डै ३० हजार मत प्राप्त गरेका थिए । यस हिसाबले उनको मत ८ हजारले घटेको छ ।
पहिचानवादी डेकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत ल्याए । यसले पहिचानवादीलाई उत्साही बनाउन सकेको छ ।
सबैभन्दा ठूलो झड्का रास्वपालाई परेको छ । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे ।
यसअघिको उपनिर्वाचनमा दुवै क्षेत्र जितेको रास्वपाको लोकप्रीयतामा ब्रेक लागेको देखियो इलाममा । यसले उक्त दललाई ठूलै धक्का लागेको छ ।
मुख्य दलहरुमध्ये एमालेले सबैभन्दा बलियो गरी मत जोगाएको देखिन्छ यसपटक । बरु पहिचानवादीको नाममा इलाममा प्रभाव बनेको छर्लंग छ । यसले भविष्यको राजनीतिलाई रोचक मोडतर्फ लानसक्छ ।