© २०२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी-नेपाल (राप्रपा-नेपाल) बीच एकताको प्रयास तीव्र भएको छ। यी दुई पार्टीका अध्यक्षहरू राजेन्द्र लिङ्देन र कमल थापाले हालसालै एकता संवाद सुरु गरेका छन्। देशको राजनीतिक परिवेशमा राष्ट्रवादी, राजावादी, र हिन्दू राष्ट्रको एजेन्डा प्रवर्द्धन गर्न यी दुई पार्टीबीचको एकताले निर्णायक भूमिका खेल्न सक्ने विश्वास गरिएको छ।
कमल थापाले राप्रपाका नेताहरू पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, र बिक्रम पाण्डेसँग निरन्तर संवाद गरिरहेका छन्। यद्यपि, सबै नेताहरूले एकताका लागि सकारात्मक संकेत दिए पनि ठोस सहमति भने अझै बनेको छैन। थापाले पार्टी एकताको लागि आफू तयार रहेको बताउँदै एकता सफल भएमा सुदृढ राजनीतिक विकल्प निर्माण गर्न सकिने धारणा राखेका छन्।
२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पद गुमाएपछि थापाले राप्रपा-नेपाललाई पुनः स्थापित गर्दै राम्रो शासन र समृद्धिको नयाँ एजेन्डा अघि सारेका थिए। तर, पछिल्लो चुनावमा अपेक्षाकृत परिणाम नआएपछि उनले पुरानै राजतन्त्रको एजेन्डामा फर्कने निर्णय गरेका छन्।