© २०२३
काठमाडौ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला विशेष साइत जुराएर गरिने धनुर्मास पूजा मंगलबार रातभर विधिपूर्वक सम्पन्न भएको छ। यो पूजा विधिमा पशुपतिनाथका चार भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे, र अन्य ब्राह्मण सहभागी हुने परम्परा छ।
धनुर्मास पूजामा पशुपतिनाथलाई आदिकलश स्थापना, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती, र बालभोग अर्पण गरिन्छ। मूलभोगका रूपमा खिचडी चढाउने परम्परा अनुरूप यसपटक अमालकोट कचहरीको तर्फबाट खिचडी भोग दिइएको छ।
ब्राह्मणहरूले दुई प्रकारको खिचडी बनाउँछन्—सख्खरयुक्त र चिनीयुक्त। अन्य समयमा नुनिलो भोग चढाइने भए पनि धनुर्मास पूजामा गुलियो र चिल्लो परिकार अर्पण गर्ने परम्परा छ। मूर्त-अमूर्त संस्कृतिका अनुसन्धानकर्ताहरूका अनुसार यो परम्परा पशुपतिनाथलाई चिसोबाट जोगाउन तातोपानीले स्नान गराउने विधिसँग पनि सम्बन्धित छ।
धनुर्मास पूजा पुस महिनामा चान्द्रमास र सौरमास दुवै पारेर गरिन्छ। पहिले यस पूजाको परम्परा नौपटकसम्म गर्ने चलन थियो, तर अब यो परम्परा हराउँदै गएको छ।
आज पशुपतिनाथ मन्दिर उपवासका लागि बन्द गरिएको छ। बिहान १२ बजेसम्म एउटा ढोका खुला रहनेछ। धार्मिक मान्यताअनुसार महादेव कैलाश र शिवपुरी डाँडामा घाम ताप्न जाने दिनको रूपमा यसलाई विशेष महत्त्व दिइन्छ।
भोलि बिहीबारदेखि मन्दिरमा नियमित पूजा आराधना र भक्तजनका लागि प्रवेश खुला गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।