© २०२३
काठमाडौँ । नेकपा एमालेको आठौँ केन्द्रीय कमिटी बैठक तीन महिने वडा केन्द्रित कार्ययोजना तय गर्दै सम्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै संगठनलाई स्थानीयस्तरमा थप सशक्त बनाउन ‘गाउँ पस्ने योजना’ सुरु गर्न बैठकले निर्णय गरेको हो।
तीन महिने वडा केन्द्रित योजना
माघदेखि चैतसम्म एमालेले देशभरका प्रत्येक वडामा संगठन सुदृढीकरण र विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्नेछ। सदस्यता अनलाइन अद्यावधिक, नवीकरण, नयाँ सदस्यता वितरण, र विभिन्न जनसंगठनहरूको व्यवस्थापन मुख्य प्राथमिकतामा राखिएको छ। संगठन विभागको प्रस्तावअनुसार यो योजना अनुमोदन गरिएको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिए।
युवालाई प्रोत्साहन र आर्थिक स्थायित्वको प्रतिबद्धता
बैठकले देशभित्रै युवाहरूलाई स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक वातावरण निर्माणमा सरकारलाई थप पहल गर्न सुझाव दिएको छ। सूचना प्रविधि, कृषि, र रोजगारी सृजना जस्ता क्षेत्रमा युवाहरूलाई सहभागी गराउन विशेष ध्यान दिनुपर्ने बैठकको धारणा छ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको माग
नेकपा एमालेले सरकारको भ्रष्टाचारविरोधी कदमलाई सकारात्मक भन्दै चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणहरूको निष्पक्ष छानबिन र निष्कर्षमा पु¥याउन जोड दिएको छ। महँगी नियन्त्रण, कालोबजारी रोकथाम, र दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिमा सरकारको ध्यानाकर्षण गराइएको छ।
गुटबन्दी नियन्त्रण र संगठनात्मक सुधार
बैठकका सहभागी केन्द्रीय सदस्यहरूले गुटबन्दीको प्रभाव तल्लो तहसम्म परेकाले त्यसलाई नियन्त्रण गर्न विशेष पहल गर्न नेतृत्वलाई आग्रह गरेका छन्। यद्यपि, माथिल्लो तहबाट संरक्षण नभएकाले समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ।
‘मिसन २०८४’ र राष्ट्रिय शक्ति निर्माण
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई व्यवहारमा उतार्न ‘मिसन २०८४’ मा केन्द्रित हुने बैठकको निर्णय छ। राष्ट्रिय निर्णायक शक्ति निर्माणको आवश्यकता औंल्याउँदै बैठकले विभाजित नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ।
ग्रामीण संगठन विस्तारमा चुनौती
संगठन विस्तारमा नेताहरूको शहर मोहले असर पारेको सहभागीहरूको भनाइ छ। गाउँको जिम्मेवारी लिने तर सहरमै सीमित रहने प्रवृत्तिको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गरिएको छ।
समसामयिक प्रस्तावहरू
बैठकले १४ समसामयिक प्रस्तावहरू पारित गर्दै सरकारसँग राजनीतिक स्थायित्व, आर्थिक गतिशीलता, र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
यस पटकको केन्द्रीय कमिटी बैठकले ‘गाउँ पस्ने योजना’लाई संगठन सुदृढीकरणको आधार मान्दै कार्यान्वयन पक्षमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। अब एमालेका नेता तथा कार्यकर्ताहरू गाउँ, टोल, र बस्तीमा पुगेर संगठन निर्माणमा जुट्नेछन्।