© २०२३
काठमाडौं । नुवाकोटको ऐतिहासिक शेरा दरबार र त्यसले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिगत नाममा लैजाने प्रयासमाथि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण गरेको छ। सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिँदै गृहमन्त्रीले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार प्रहरी महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई सत्यतथ्य छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देश गरिएको छ।
पृथ्वीनारायण शाहको पालामा निर्मित शेरा दरबारसँग जोडिएको जग्गा निजी कम्पनीको नाममा दर्ता गरिएको तथ्य बाहिर आएपछि सीआईबीले सरकार र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको हाे। सार्वजनिक सम्पत्तिमाथिको यस प्रकारको हिनामिनालाई गृह मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ।
यस विषयमा संलग्न पक्षहरूमाथि छानबिन गर्दै सार्वजनिक सम्पत्ति फिर्ता गर्न आवश्यक कानुनी प्रक्रिया अपनाइने गृह मन्त्रालयले स्पष्ट पारेको छ।