© २०२३
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संसद्मा दुई दलीय संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकले संसदीय फाँटको कार्य सम्पादनलाई सहजीकरण गर्न यो कार्यदल गठन गरेको हो।
कार्यदलमा दुवै दलका संसदीय विभाग प्रमुख, प्रमुख सचेतक, सचेतक, र राष्ट्रिय सभाका प्रमुख सचेतकलाई समावेश गरिएको छ। एमालेतर्फबाट सचिव तथा संसदीय विभाग प्रमुख योगेश भट्टराई, प्रमुख सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, र राष्ट्रिय सभाका प्रमुख सचेतक भगवती न्यौपाने रहेका छन्। कांग्रेसतर्फबाट संसदीय विभाग प्रमुख जीवन परियार, प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, र राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय सदस्य छन्।
बालुवाटारमा भएको छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए। एमालेतर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल उपस्थित थिए।
यसअघि पनि सरकार सञ्चालन र समन्वयका लागि कांग्रेस र एमालेले ८ सदस्यीय कार्यदल गठन गरेका थिए, जसलाई अहिले प्रदेश र जिल्ला तहसम्म विस्तार गरिएको छ।
काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्र ओलीले संसद् सञ्चालनलाई व्यवस्थित गर्न यो नयाँ रणनीति अपनाएका हुन्। दुवै दलका नेताहरूले यो कार्यदलले संसद् अवरोध हटाउन र दलीय सहमतिको वातावरण तयार गर्न सघाउने विश्वास व्यक्त गरेका छन्।