© २०२३
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच संवाद निरन्तर जारी रहेको पाइएको छ। विप्लवलाई माओवादी केन्द्रमा भित्र्याउने प्रयास भइरहेका बेला, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने विप्लवको भेटघाट पातलिएको छ। विप्लवले प्रचण्डलाई एकताको लागि उदासीन भएको आरोप लगाउँदै आएका छन्।
पब्लिक सवाललाई प्राप्त जानकारी अनुसार, जनार्दन शर्माले केही समयअघि विप्लवको कार्यक्षेत्र कपिलवस्तुमा पुगेर राजनीतिक छलफल गरेका थिए। यसैगरी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका अर्का उपमहासचिव वर्षमान पुनले पनि विप्लवसँग निरन्तर भेटघाट गरिरहेका छन्।
काठमाडौंमा रहँदा समेत विप्लवले प्रचण्डसँग कुनै भेटवार्ता नगरेको स्पष्ट भएको छ। उनी हालै मात्र आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न गरी काठमाडौं फर्किएका हुन्। उक्त बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको बताइए पनि दल दर्ताको प्रक्रिया कहाँसम्म पुगेको भन्ने खुलाइएको छैन।
विप्लवको नेतृत्वमा रहेको दल शान्तिपूर्ण राजनीतिमा अघि बढ्न तयार भएको संकेत देखिएको छ। पब्लिक सवाललाई स्रोतले दिएको जानकारी अनुसार, यही पुष ११ गते जनार्दन र विप्लवले एउटै मञ्च सेयर गर्ने तयारी गरेका छन्। यो मञ्चले माओवादीभित्रको सम्भावित सहकार्य र नयाँ राजनीतिक समीकरणलाई थप गति दिने अपेक्षा गरिएको छ।
शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्न विप्लव सकारात्मक देखिए पनि माओवादी केन्द्रभित्र भैरहेको संवाद र प्रयासहरूले देशको राजनीतिक भविष्यलाई नयाँ दिशामा लैजाने सम्भावना देखिन्छ।