© २०२३
२०८१ बैशाख १३ चौतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भएको छ । आज विहिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । उक्त बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समिति गठन गर्ने, आ.व.२०८०/०८१ मा सम्पन्न सबै स्थानीय तहको प्रजनन स्वास्थ्य सम्बन्धी क्रियाकलापहरुको समीक्षा, लेखा जोखा तथा कार्ययोजना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निशुल्क हवाई उद्धार तथा सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम बारे बृहत छलफल भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाईले बताउनु भएको छ ।
सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम मार्फत आमा र बच्चाको सुरक्षाका कार्य गर्दे आएको बजागाईंले थप्नु भएको छ। स्वास्थ्य संस्थामा गर्भजाँच, खोप, सुत्केरी हुनेमा उल्लेख्य वृद्धि भएको छ । बैठकमा भोटेकोशी गाउँपालिकका उपाध्क्ष दिछेन शेर्पाले महिलाको प्रजनन स्वास्थ्यका लागि संविधानमा व्यवस्था भएका कुराहरु पालना गर्नु पर्ने बताएकी छन । अहिले पनि धेरै महिलाहरुको प्रजनन स्वास्थ्य समस्या भइरहेको पाईन्छ त्यसको अन्त्यका लागि हामी स्थानीय सरकारको तर्फबाट सहयोग गर्न तयार छौं यसमा हातौमालो गरेर अगाडी बढ्न १२ वटै स्थानीय तह र जनस्वास्थ्य कार्यालय एकीकृत ढंगबाट स्वास्थ्यका कामहरु गर्नुपर्ने उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिलाई चलायमान बनाउन र यस बाट प्रजनन स्वास्थ्यका कामहरु गर्न आग्रह गरेका छन । त्यस्तै चौतारा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कार्कीले प्रजनन स्वास्थ्यको समस्याको समाधानका लागि तीन तहका सरकारहरु लाग्नु पर्ने बताए । महिलाहरुलाई प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चितका लागि सबै निकायको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिए । त्यस्तै चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले प्रजनन स्वास्थ्यमा समस्या भएका विरामीहरुलाई जुनसुकै समयमा पनि उपचार गरेर सहयोग अस्पताल तयार रहेको बताए ।
कार्यक्रमलाई समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठले जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समिति महिलाहरुका प्रजनन स्वास्थ्यका विषयहरुलाई विशेष प्राथमिकताका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस जिल्लमा कुनै पनि आमा र बच्चाको मृत्यु हुन नदिन विशेष गरि चौतारा अस्पताल, जनस्वास्थ्य कार्यालय स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा मार्फत नागरिकको ज्यान बचाउन लाग्नु पर्ने बताए । उक्त बैठकमा जिल्ला १२ वटै स्थानीय तहका नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षहरु जिल्लाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।