© २०२३
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्माले ४ हजार २८२ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मतमात्र पाएका थिए।
शर्माको नेतृत्वमा गठित प्यानलले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाइसकेको छ। विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूहलगायतका संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्ष महिलातर्फ नितु पण्डित ४ हजार ७०५ मतसहित विजयी भइन्।
महासंघको यस निर्वाचनले पत्रकारिताको पेशागत सुधार र पत्रकारका अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।