© २०२३
काठमाडौ । २७ वर्षपछि नेपालगन्ज र टीकापुरबीच हवाई सेवा पुनः सञ्चालनमा आएको छ। तारा एयरको टुइनअटर विमानले आज पहिलो व्यावसायिक उडान भरेर दुई शहरबीचको दूरीलाई सहज यात्राकाे माध्यमद्वारा जोड्ने ऐतिहासिक सुरुवात गरेको हाे ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका अनुसार, पहिलो उडानमा नेपालगन्जबाट ११ यात्रु र ३ एयरलाइन्सका कर्मचारी टीकापुर पुगेकाे र फर्किने क्रममा १६ यात्रु र ३ कर्मचारीलाई लिएर विमान नेपालगन्ज फिर्ता बताएका छन । उक्त उडानले यात्रुहरूको समय र श्रम बचत गर्दै स्थानीय व्यापार र पर्यटनमा नयाँ गतिको संकेत गरेको छ।
यो मार्गमा टुइनअटरले १८ देखि २० मिनेटको यात्रा पूरा गर्छ। नागरिक उड्डयन प्राधिकरणले तारा एयरलाई हप्ताको दुई पटक (आइतबार र बिहीबार) उडान अनुमति दिएको छ। हिउँदमा मात्र अनुमति पाएको यो सेवा, कच्ची धावनमार्गको सीमितताका बाबजुद पनि सफलतापूर्वक सञ्चालन भइरहेको छ।
नेपालगन्ज–टीकापुरको एकतर्फी भाडा ३,६०० रुपैयाँ निर्धारण गरिएको छ। कात्तिक १२ मा परीक्षण उडान सफल भएपछि मंसिर ३० बाट सेवा नियमित भएको हो। यो नयाँ सुरुवातले दुई क्षेत्रबीचको व्यापारिक सम्भावनालाई बलियो बनाउन र स्थानीय जनजीवनलाई सहज बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।