© २०२३
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो जिम्मेवारीप्रति इमान्दार र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। सर्वोच्च अदालतको नवौं अधिवेशनको अवसरमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको विभागीय कार्य समितिको कार्यक्रममा उनले देशको समृद्धिका लागि सबै पक्षले आ-आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
महरले भने, “देश विकास र समाज सेवाका लागि हामी सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु आवश्यक छ। कर्मचारीले केवल तलबका लागि काम गर्ने र राजनीतिकर्मीले भोटका लागि मात्रै सोच्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन सक्दैन।”
उनले राजनीतिक नेतृत्व र निजामती कर्मचारीबीचको सहकार्यबाट मात्र सुशासन र विकास सम्भव हुने बताएका छन्। महरले जोड दिँदै भने, “राजनीतिकर्मीहरूले नीति निर्माणमा केन्द्रित हुनुपर्छ भने कर्मचारीहरूले ती नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। यसैबाट मात्र देशले समृद्धिको अनुभूति गर्न सक्छ।”
कार्यक्रममा उनले निजामती कर्मचारीहरूले सामना गर्ने चुनौती र समस्याप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भने, “कर्मचारीहरूको व्यावसायिक क्षमता बढाउन, काम गर्ने वातावरण सुधार्न, र उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो। सरकार राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च राखेर उनीहरूलाई प्रोत्साहन दिनुपर्छ।”
महरले सिंगापुरका प्रथम प्रधानमन्त्री ली क्वान युको पुस्तक ‘सिंगापुर: फ्रॉम थर्ड वर्ल्ड टू फर्स्ट वर्ल्ड’ को सन्दर्भ दिँदै भने, “राम्रो सरकारका लागि राम्रा मानिस चाहिन्छन्। खराब नेताले जनतालाई हानी पुर्याउँछन्। सिंगापुरको सफलताको कारण मन्त्रीहरूको क्षमता र उच्चस्तरीय कर्मचारीहरूको सहकार्य हो।”
उनले न्यायालय मात्र नभई सबै सरकारी निकायमा पारदर्शिता, जिम्मेवारी, र समर्पण आवश्यक रहेकोमा जोड दिए। महरले भने, “सुशासन र समर्पणमार्फत मात्र राष्ट्रलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ।”
कार्यक्रममा निजामती ऐनलाई समृद्ध बनाउन सबैको सहकार्य र साझा प्रयासको आवश्यकता रहेको उल्लेख गर्दै, तल्लो तहसम्म सेवा प्रभावकारी बनाउन गहन छलफल गरिएको थियो।