© २०२३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजका लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेको छ। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण भोलि शुक्रबारका लागि सारिएको हो।
स्थायी समितिको बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो। बैठकमा मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, आगामी केन्द्रीय समिति बैठक, र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा तय भएको थियो।
यस्तै, बैठकमा सक्रिय राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने विषयमा निर्णय गर्ने तयारी भएको माओवादी स्रोतले जनाएको छ। पार्टीको स्थायी समितिका सदस्य रहिसकेका पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने विषयमा छलफल हुने बताइएको छ।
पूर्व उपराष्ट्रपति पुन, जो विद्यादेवी भण्डारीको राष्ट्रपतित्वकालमा दुई कार्यकाल उपराष्ट्रपतिमा रहेका थिए, पछिल्लो समय माओवादीका गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। उनी अध्यक्ष दाहालको सल्लाहमा राजनीतिमा पुनः सक्रिय भएका हुन्।