© २०२३
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानलाई प्रभावित पार्ने गरी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा बाह्य दबाब सिर्जना गर्ने प्रयास भैरहेको जनाए। “पूर्वप्रधानमन्त्रीले न्यायिक प्रक्रियामा हस्तक्षेप हुने गरी बोल्नु अत्यन्तै अनुचित हो,”
गृहमन्त्री लेखकका अनुसार लामिछानेका समर्थकहरूले प्रहरी, वकिल कार्यालय र अदालत घेर्ने जस्ता गतिविधि गरेर विधिको शासन उल्लङ्घन गरिरहेका छन्। “अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि प्रयास गलत हो। विधिको शासनप्रति आस्था राख्न सबैलाई आग्रह छ,” उनले थपे।
उनले ठगिएका व्यक्तिहरूको न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै अनुसन्धानलाई प्रभावित पार्ने हर्कतलाई अस्वीकार्य ठहर गरे। “जसको अधिकार खोसिएको छ, उसको न्याय पाउने अधिकारमाथि खेलवाड गर्न मिल्दैन। यस्ता क्रियाकलापलाई प्रोत्साहन गर्न सकिँदैन,” गृहमन्त्रीले भने।
सरकारले संविधानको कार्यान्वयन र दिगो शान्तिको स्थापना गर्नेतर्फ प्रतिबद्ध रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरकारलाई अस्थिर बनाउने प्रयास भइरहेको बताए। “सरकार ढल्छ भन्ने हल्ला फैलाएर अस्थिरता ल्याउने षड्यन्त्रप्रति सचेत रहन सबैलाई आह्वान गर्दछु,” उनले स्पष्ट पारे।
गृहमन्त्रीले संविधानविरोधी गतिविधिहरूलाई नियन्त्रण गर्दै न्याय, विधि, र शान्तिको रक्षा गर्न सरकार दृढ रहेको र यस अभियानमा सबैको साथ आवश्यक रहेको बताए।