© २०२३
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको मेयरको निर्वाचनलाई ‘जनमत संग्रह’ को रुपमा व्याख्या गरेका छन्।
बिहीबार कीर्तिपुरको नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै उनले यो चुनाव देशभर हुने उपनिर्वाचनहरूमध्ये विशेष महत्वको भएको बताए। देशभरका ४४ स्थानमा उपनिर्वाचन हुँदै गर्दा नगरपालिकाको प्रमुख पदका लागि मात्र कीर्तिपुरमा प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै पाण्डेले भने, “यो चुनाव, विशेषगरी कीर्तिपुरको चुनाव, अहिलेको राजनीतिक अवस्था बुझ्नका लागि जनमत संग्रह नै हो।”
उनका अनुसार यो चुनावले देशभरका जनताको मनोविज्ञान झल्काउनेछ। “नेपाली जनता अहिले कोसँग छन् भन्ने हेर्ने बेला हो। यो चुनावले ठूला सन्देश दिनेछ,” उनले थपे।
पाण्डेले कीर्तिपुरलाई ऐतिहासिक क्रान्तिको थलोको रुपमा उल्लेख गर्दै यस नगरले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराए।
कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भइरहेको यो निर्वाचनले पार्टीहरूबीचको शक्ति सन्तुलन कस्तो छ भन्ने प्रष्ट पार्ने अपेक्षा गरिएको छ।