© २०२३
महागढीमाई (बारा): मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको तयारीलाई प्रभावकारी बनाउन व्यक्तिगत पहल र सक्रियता देखाउँदै प्रदेश सरकारको सहभागिता सुनिश्चित गरेका छन्।
गढीमाई मन्दिर क्षेत्रमा मेलाका लागि सुरक्षा, खानेपानी, शौचालय र अन्य व्यवस्थापनबारे तेस्रो पटक स्थलगत अवलोकन गरेका मुख्यमन्त्री सिँहले मेलालाई व्यवस्थित बनाउन प्रदेश सरकारले पचास लाख रुपैयाँ खर्च गरिरहेको पब्लिक सवाललाई जानकारी गराएका छन।
मुख्यमन्त्री सिँहले मेलामा सहभागी श्रद्धालुभक्तजनलाई सहजता प्रदान गर्न खानेपानी, शौचालय र दाउराको व्यवस्थापनमा प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन। उनले मेला व्यवस्थापनका लागि स्थानीय आवश्यकताका आधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन।
महागढीमाई नगरपालिकाका मेयर तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री सिँहको तत्परताले नेताहरूप्रतिको विश्वास बढाएको बताउँदै पार्टीभन्दा माथि उठेर देखाएको सक्रियताको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन।
गढीमाई मेला मङ्सिर १७ गतेदेखि सुरु हुँदैछ, जसमा नेपाल, भारत र अन्य मुलुकबाट लाखौँ श्रद्धालुभक्तजनहरूको सहभागिता हुने अनुमान गरिएको छ।