© २०२३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्थितिमा आमूल परिवर्तन ल्याउन प्रभावकारी योजना र कार्यशैलीमा सुधारको खाँचो रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित चालु आर्थिक वर्षको प्रथम त्रैमासिक समीक्षा बैठकमा उनले मन्त्री र सचिवहरूलाई ठोस र परिणाममुखी काम गर्न निर्देशन दिए।
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले स्रोतको सुनिश्चितताबिनै तयार गरेको बजेटले कठिनाइ उत्पन्न गरेको बताउँदै आवश्यक परे बजेटको पुनरावलोकन गर्न सकिने तर काम गर्ने शैलीमा आमूल परिवर्तन अनिवार्य रहेको उल्लेख गरे। उनले बजेट र कार्यक्रमका विसंगतिहरूलाई व्यवस्थापन गर्दै ११ हजार नक्कली आयोजना हटाउन र बहुवर्षीय योजनामा न्यून बजेटको विकृति अन्त्य गर्न जोड दिए।
“हामीले कृषि, ऊर्जा, सूचना प्रविधि लगायतका क्षेत्रमा नयाँ र क्रान्तिकारी पहल गर्नुपर्छ। प्रक्रियावादमा अल्झेर जनताका अपेक्षाहरू पूरा गर्न सकिँदैन। देशको विकास र अर्थतन्त्रमा ठोस र दीर्घकालीन योगदान दिने योजना तत्काल अघि सार्नुपर्छ,” प्रधानमन्त्रीले भने।
ओलीले बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्न निजी क्षेत्रको सहकार्य खोज्नुपर्ने र अनावश्यक संरचनाहरू खारेज गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मन्त्रीहरूको कार्यक्षमता र कर्मचारीको उत्साहलाई पुनर्मूल्याङ्कन गरी परिणाम नदिनेहरूलाई कारबाही गर्नुपर्ने चेतावनी पनि दिए।
प्रधानमन्त्रीले सरकारको उपलब्धि व्यवहारमा प्रत्यक्ष देखिनुपर्नेमा जोड दिँदै उत्पादन र परिवर्तनमा केन्द्रित काम गर्न आग्रह गरे। उनले भने, “अब अलमलको समय छैन। काम नगर्नेले ठाउँ छोड्नुपर्छ, प्रभावकारी काम गर्नेले मात्र सरकारको हिस्सेदारी हुनुपर्छ।”
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्य सचिव, र सचिवहरूले भाग लिएका थिए। प्रधानमन्त्री ओलीको यो निर्देशनसँगै सरकारले विकास र आर्थिक प्रगतिका लागि नयाँ जोशका साथ काम गर्ने अपेक्षा गरिएको छ।