© २०२३
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले रिट निवेदकलाई आरोपसँग सम्बन्धित प्रमाणहरू अदालतसमक्ष पेश गर्न निर्देशन दिएको हो।
अधिवक्ता अनुमप भट्टराईले रास्वपाका सांसदहरूविरुद्ध अनुसन्धानको क्रममा अदालतलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको, आन्दोलन चलाएको, र जनतालाई उचालेर न्याय प्रक्रियामा बाधा पुर्याउन खोजेको दाबी गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
रिट निवेदनमा रास्वपाका उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह, र गणेश पराजुलीलाई प्रतिवादी बनाइएको छ।
यस्तै, सांसदहरू चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार, र हरि ढकाल पनि मुद्दामा प्रतिवादी रहेका छन्। अदालतले यस मुद्दामा प्रमाणहरूको सशक्त उपस्थिति माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।