© २०२३
काठमाडौं । सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंसिर २ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पोखराबाट काठमाडौं ल्याएर बयान प्रक्रिया सुरु गरिनेछ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा बयानका लागि ल्याइँदै गरेका लामिछानेलाई यसअघि सुप्रिम सहकारी प्रकरणमा रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा प्रस्तुत गरिएको थियो।
काठमाडौंमा बयान सकिएपछि उनलाई पुनः कास्की फर्काइनेछ भने चितवन जिल्ला अदालतले जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा उनलाई चितवन लगिनेछ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सहकारी रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि लामिछानेमाथि अनुसन्धान जारी छ। नेपाली कानुनअनुसार प्रहरीले सम्पत्ति शुद्धीकरणका मुद्दामा उनलाई ९० दिनसम्म हिरासतमा राख्न सक्छ।