© २०२३
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटको सम्भावित मोडमा छ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ।
मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनले जनमत पार्टीलाई विस्थापित गर्ने संकेत देखिएपछि राउतले केन्द्र सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन्। यो असन्तुष्टिको कारण जनमत पार्टीले आफ्ना सांसद माथि कारबाहीको सिफारिश गर्दा पनि सभामुख देवराज घिमिरेले त्यसलाई अस्वीकार गर्नु हो। सभामुखको यो निर्णयले राउत थप आक्रोशित बनेका छन्।
डा. राउत हालैको कम्बोडिया भ्रमणबाट आज मात्र काठमाडौँ फर्केकाले समर्थन फिर्ताको औपचारिक निर्णय भोलिसम्म हुने अपेक्षा गरिएको छ। यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमालेसँग मधेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल अघि बढाएका छन्।
प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जान लागेका छन्। तर, भ्रमणको पूर्वसन्ध्यामा राउतको यो कदमले सरकारलाई दबाब सिर्जना गर्ने देखिन्छ। समर्थन फिर्ता भएमा ओली सरकारको स्थायित्वमा चुनौती खडा हुने निश्चित छ।