© २०२३
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले आर्थिक र विकासका लागि लाभ लिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पूर्वप्रधानमन्त्रीहरूको बैठकमा अनुपस्थित रहेको जानकारी गराउँदै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको सफलताको शुभकामना दिएका छन्। यसै क्रममा उनले नेपालले बीआरआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
उनले नेपालको ऐतिहासिक स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षणप्रति सजग रहँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबै देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने धारणा व्यक्त गरे। “नेपाल दक्षिण एसियामा सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौम राष्ट्र हो, यसका कारण हाम्रो सार्वभौमसत्तालाई सुदृढ बनाउनु हाम्रो दायित्व हो,” उनले भने।
डा. भट्टराईले नेपालको आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउन र आधुनिक अर्थतन्त्रको निर्माण गर्न भारत र अमेरिकासँगको सहकार्य जस्तै चीनको बीआरआई परियोजनाबाट पनि फाइदा लिनुपर्नेमा जोड दिए।
सत्ता गठबन्धनभित्र बीआरआईबारे मतभेद जारी रहेको बेला डा. भट्टराईको यो भनाइ सार्वजनिक भएको हो। नेपाली कांग्रेसले बीआरआईका परियोजनाहरू ऋणमा नलिनुपर्ने अडान राख्दै आएको छ। तर डा. भट्टराईले आर्थिक र भौतिक पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय सहयोगको महत्त्व औंल्याउँदै, राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
नेपालको भू-राजनीतिक अवस्थालाई ध्यानमा राख्दै उनले अमेरिका, चीन, भारतजस्ता देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने सुझाव समेत दिएका छन्।