© २०२३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ आर्थिक प्रोत्साहन दिने निर्णय गरेका छन्। यसअघि दाताका परिवारलाई १ लाख रुपैयाँ दिने गरिन्थ्यो, जुन भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत उपलब्ध गराइन्थ्यो।
नयाँ निर्णय अनुसार, थप १ लाख रुपैयाँ स्वास्थ्यमन्त्रालयको आन्तरिक स्रोतबाट उपलब्ध गराइनेछ। साथै, अंग दानका लागि सघाउने अस्पतालहरूलाई दिइने ५० हजार रुपैयाँमा २५ हजार रुपैयाँ थप गर्दै ७५ हजार रुपैयाँ पुर्याइएको छ।
मन्त्री पौडेलले यो निर्णयले मृत्युपश्चात अंग दानको संस्कृतिलाई व्यापक बनाउँदै धेरै मानिसको जीवन बचाउन योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले आफ्नै मृत्युपश्चात अंग दान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपालमा विद्यमान कानुन अनुसार मृत्युपश्चात अंग दान गर्न सकिने व्यवस्था छ। दान गरिएका अंगहरू मृत्यु भएको २४ घण्टाभित्र प्रत्यारोपण गर्न सकिन्छ। हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले हरेक वर्ष झण्डै २०० मृगौला र २० कलेजोको प्रत्यारोपण गर्दै आएको छ।