© २०२३
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा गरिएको आन्दोलनका कारण उठेको अदालतको अवहेलना मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दा दर्ता भएको हो।
रास्वपाका नेताहरूले लामिछानेको गिरफ्तारीपछि निरन्तर सडक आन्दोलन गर्दै आएका छन्। अधिवक्ता अनुपम भट्टराईले आन्दोलनका क्रममा न्यायिक प्रक्रियामा अवरोध गर्ने प्रयास गरिएको र न्यायालयमाथि दबाब दिने उद्देश्यले अभिव्यक्ति दिइएको दाबी गर्दै मुद्दा दायर गरेका थिए। यसअघि, अधिवक्ता भट्टराईले दायर गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेपछि न्यायाधीश विनोद शर्माले उक्त आदेश खारेज गर्दै मुद्दा दर्ता गर्न बाटो खोलेका थिए।
मुद्दामा रास्वपाका केही प्रमुख नेताहरू, जस्तै, डीपी अर्याल, स्वर्णिम वाग्ले, डा. अच्युतम लामिछाने, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतमलगायत अन्य सांसदहरूलाई प्रतिवादी बनाइएको छ। कात्तिक २ गते रवि लामिछाने पक्राउ परेपछि सुरु भएको आन्दोलनका कारण अदालतको अवहेलना मुद्दा दर्ता भएको हो।